
काठमाडौं, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ ।
निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ । सत्तारूढ गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको अवस्थामा राष्ट्रपति को हुने भन्ने निर्णय गरिसकेको छैन । उसले बहुमत ल्याएको अवस्थामा प्रमुख पदमा भागबन्डा गरेर अगाडि बढ्ने निश्चित प्रायः छ ।
यस्ता छन् दाबेदार
कांग्रेसले राष्ट्रपति पाएमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने सम्भावना छ । प्रधानमन्त्रीका आकांक्षी रहेका पौडेललाई राष्ट्रपति बनाउन सकिने चर्चा कांग्रेसभित्र रहेको छ । यस्तै, अर्का वरिष्ठ नेता कृष्णप्रसाद सिटौलासमेत राष्ट्रपतिको दौडमा रहेका छन् ।
यस्तै सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा राष्ट्रपति परेको अवस्थामा अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन, डा. बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटामध्ये एक हुन सक्नेछन् । पुनले ‘उपराष्ट्रपतिको जिम्मेवारी सफल रूपमा निर्वाह गरिसकेको’ र सापकोटा ‘सभामुखको भूमिका राम्रोसँग निर्वाह गरिसकेकाले’ उनीहरू चर्चामा छन् । तर, निर्वाचनमा उम्मेदवार नरहेका डा. भट्टराईको सम्भावना बढी रहेको समेत बताइन्छ ।
गठबन्धनमै रहेको एकीकृत समाजवादीले राष्ट्रपति पाएको अवस्थामा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अघि सार्ने सम्भावना छ । यसअघि समेत राष्ट्रपतिको दौडमा खनाल थिए । एमालेले अहिलेको राष्ट्रपति भण्डारीलाई अघि सारेपछि खनाल राष्ट्रपति हुन नसकेका हुन् ।
यदि एमालेको गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको अवस्थामा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङमध्ये एकलाई अघि सार्ने सम्भावना छ । संघीय सरकारको पटकपटक मन्त्रीका साथै बाग्मती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेकी शाक्य महिलासमेत भएकाले उनको सम्भावना बढी रहेको छ ।
यस्तै, पूर्व सभामुख रहेका नेम्वाङ आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको र पार्टीभित्र समेत समन्वयकारी भूमिका खेलेका कारण उनको सम्भावनासमेत बढी रहेको चर्चा एमालेभित्र रहेको छ ।
सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रले सम्मानजनक मत नपाएको अवस्थामा गठबन्धन भत्किन सक्ने र एमालेसहितको गठबन्धन बन्ने अवस्थामा प्रमुख पदमा भागबण्डा गरेर सरकार निर्माण हुन सक्ने बताइन्छ । प्रमुख तीन कम्युनिस्ट पार्टी मिलेर अगाडि बढ्ने अवस्थासमेत आउन सक्ने सम्भावना नकार्न सकिँदैन ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखजस्ता प्रमुख पदमा भागन्डा गरेर अगाडि बढ्न सक्ने दयगत समेत राजनीतिक दलका नेता सहमत छन् । आगामी निर्वाचनबाट कुनै एक दलको बहुमत नआउने सम्भावना रहेकाले गठबन्धन गरेर नै सरकार निर्माण हुन्छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।