
काठमाडौं, २३ कात्तिक । प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।
मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
गम्भीर प्रकारको निमोनिया देखिएका ५८ वर्षीय थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।
ह्याम्समा तीन साताको उपचारपछि स्वास्थ्यमा सुधार भएपनि कमजोरीपनका कारण उनलाई विराटनगरमै फर्काएर निरन्तर अक्सिजनको सहयोगमा उपचार जारी राखिएको थियो ।
थापाको निधनपछि चुनावी कार्यक्रम पनि रोकिने भएको छ । पथरी शनिश्चरे–८ स्थायी घर भएका थापा लामो समय यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा थिए ।
थापाको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा के हुन्छ भन्ने विषयमा आयोगले स्पष्ट पारेको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले प्रदेशसभा उम्मेदवारको निधनको जानकारी आयोगलाई रहेको र त्यसबारे आयोगले पुनः मनोनयनलगायत सबै प्रक्रिया पूरा गर्ने र मंसिर ४ मा नै मतदानको तयारी भइरहेको बताए ।
