
काठमाण्डौं, २३ कात्तिक । डोटीमा गएराति तीन पटकसम्म भूकम्प गएको छ । राति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार त्यसअघि पनि त्यहि क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यस अघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का बाजुरा, बझाङलगायत सुदूरपश्चिमका जिल्लामा महशुस गरिएको थियो । भूकम्पमा परेर डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएको बतइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार भूकम्पमा परि पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ५० वर्षीय पदम बोहराको घर भत्किदा उनकी ४० वर्षीया श्रीमती भगवतीदेवी बोहरा, ८ वर्षका छोरा हर्क बोहरा, १३ वर्षीया छोरी सिता बोहराको ज्यान गएको छ ।

यस्तै त्यही ठाउँका उमेर नखुलेका प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको ज्यान गएको छ । बेपत्ता रहेका दुई जनाको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ४५ वर्षीय महावीर बोहरा, ४० वर्षीया इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिए ।

गैरागाउँमा ८ वटा घर भत्किएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् ।
यसैबीच नेकपा एमाले डोटीले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गरेका हुन् ।

मल्लले उक्त रकम जिल्ला विपद व्यवस्थापन समितिलाई तत्कालै उपलव्ध गराउने बताए । डोटी प्रदेश सभा क्षेत्र “क” का लागि उम्मेदवार समेत रहेका अध्यक्ष मल्लले भने, ‘सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न म आग्रह गर्दछु ।’
