प्रचण्डविरुद्ध भोट मागेका ऊर्जामन्त्री आचार्य बर्खास्त
अखबार टुडे
प्रकाशित:
२०७९, २२ कार्तिक

पोखरा, २२ कात्तिक । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् ।

गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका हुन् ।

उनले ऊर्जामन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएको र उत्त पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट स्वीकृत भइसकेको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए ।

आचार्य नेपाल समाजवादी पार्टीका नेता तथा सांसद हुन् । उनी तत्कालीन नयाँ शक्ति पार्टीबाट २०७४ सालको चुनावमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए ।

आचार्यले असोज २३ मा गठबन्धनविरूद्ध गोरखामा बागी उम्मेदवारी दर्ता गराएका थिए । तर नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पछि फिर्ता लिएका थिए ।

आचार्यमाथि गोरखा २ मा सत्ता गठबन्धनका उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विरूद्ध उभिएको आरोप छ ।

गण्डकीमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पु¥याउन नसकेर सरकार ढलेपछि कांग्रेस नेतृत्वमा सरकार बन्दा तत्कालिन जसपाबाट आचार्यले पनि मन्त्री बन्ने मौका पाएका थिए । आचार्यले भने आफू कुनै पार्टीमा नलागेको भन्दै मन्त्रीबाट हटाउनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

प्रतिक्रिया