अब अर्घाखाँचीबाट पनि दिल्ली सरर
अखबार टुडे
प्रकाशित:
२०७९, २२ कार्तिक

अर्घाखाँची, २२ कात्तिक । अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ ।

सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरू खुसी भएका छन् ।

दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडी खोज्नुपर्ने झन्झट अन्त्य हुनाका साथै नगद तथा सामग्री जोगाउन नसकिने समस्याबाट मुक्त भएको र सुविधासम्पन्न एसी बसमा यात्रा गर्न पाउँदा आफूहरू खुसी भएको यात्रुहरूको भनाइ छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालनमा ल्याएको उक्त बससेवा शुभारम्भ गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले यसबाट जिल्लादेखि दिल्लीसम्म पुग्ने यात्रुहरूका लागि सहज भएको बताए ।

सन्धिखर्कदेखि गोरुसिङ्गे, नेपालगञ्ज, लख्खिनपुर हुँदै दिल्लीसम्म बस पुग्नेछ । सन्धिखर्कबाट झन्डै नौ सय किलोमिटरको दूरीमा दिल्ली रहेको छ । बसमा ३६ सिट, दुई चालक, दुई परिचालक रहने र बसको भाडादर रु तीन हजार दुई सय पर्छ ।

तत्कालका लागि हप्ताको तीन दिन सञ्चालन हुने बस यात्रुको मागअनुसार थप्न सकिने उक्त प्रालिका अर्घाखाँची शाखाप्रमुख कमलप्रसाद भट्टराईले बताए । सोमबार, बुधबार र शुक्रबार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधबार, शुक्रबार र आइतबार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि बस छुट्नेछ ।

प्रतिक्रिया