
ढोरपाटन, २२ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।
बागलुङमा सोमबार भएको चुनावी सभामा बोल्दै उनले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताए । सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधि सभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको बताए ।
उनले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरेका थिए । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्ने उनले बताए ।
‘एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाइसके, पटकपटक संसद भत्काउनेलाई अब जनताले सबक सिकाउने छन्’, उनले भने, ‘गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मङ्सिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्नेछ, नेपाली जनताले ओलीलाई चिनिसके ।’
उनले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने बताए । प्रतिगमनको विरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहजरूपमा चुनाव जित्ने केसीको दाबी छ ।
नेता केसीले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए । जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता उनले जनाए ।
आफू यसपटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसदमा आवाज उठाउन चुनावमा होमिएको उनको भनाइ थियो ।
