
काठमाडौं, २१ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । सोमबार पोखरामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्नसमेत चुनौती दिए ।
ओलीले भने, ‘चुनावपछि म प्रधानमन्त्री बन्छु । म गठबन्धनको निर्णय सुन्न चाहन्छु । जनता गठबन्धनको निर्णय सुन्न चाहन्छन् । को हो तपाईंहरुको प्रधानमन्त्री ?’ उनले कांग्रेसका थुप्रै मान्छेले ‘मै प्रधानमन्त्री’ भनिराखेको र प्रचण्डले त्यसै भनिराखेको भन्दै गठबन्धनको निर्णय सुन्न चाहेको उनले बताए ।
विपक्षी दलहरुबाट कोही पत्रकार, कोही कलाकार, कोही बुद्धिजीवी सडकमा आएको भन्दै गठबन्धनमा विचार र गन्तव्य नभएको उनले आरोप लगाए । ओलीले गठबन्धन दलहरुले एउटै घोषणापत्र नबनाएर फरकफरक बनाएको भन्दै कुनै घोषणापत्र पनि कार्यान्वयन नहुनेसमेत दावी गरे ।
‘धान पनि मिसाउने, चामल पनि मिसाउने, कनिका पनि मिसाउने अनि पकाउने ?’ उनले भने, ‘अनि कसको कार्यक्रम लागू गर्ने ? त्यसकारण यो दिशाविहीन छ ।’
