
काठमाडौं, २० कात्तिक । नेकपा एमालेका नेता शेषकान्त गौतमले सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै गौतमले झाँक्रीलाई जिताउन सघाउने घोषणा गरेका हुन् ।
कुनै राजनीतिक परिवारका कारण अगाडि नबढेकी र गुल्मेली गहना चेलीलाई समर्थन गरेर विजयी गराई पठाउन पनि उनले सम्पूर्ण गुल्मेलीहरुलाई आग्रह गरेका छन् ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेका गौतमले लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पु¥याएकी झाँक्रीलाई मत दिनु उचित ठानेको उल्लेख गरेका छन् ।
उनले बिष्टलाई लक्षित गर्दै कुनै समय आफ्नै पार्टीको प्रधानमन्त्री ढलाउन सर्वोच्च पुग्ने अनि त्यही पार्टीमा बस्ने नैतिक पतन भएकाहरुलाई आफुले सहयोग गर्न नसकेको उनले आरोप पनि लागए ।
गुल्मी क्षेत्र नम्बर २ मा एमालेको तर्फबाट सचिव गोकर्ण बिष्ट उम्मेदवार छन् । बिष्ट २०६४ सालमा बाहेक निर्वाचित भएका छन् । २०६४ सालमा नेकपा माओबादी केन्द्रका चन्द्रबहादुर थापा (सागर) ले बिष्टलाई पराजित गरेका थिए । अहिले पहिलेका सहयात्री बिष्ट एमालेबाट र झाँक्री गठबन्धनको तर्फबाट चुनाबी मैदानमा छन् ।
गौतम प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि एमालेको स्थानीय कमिटीबाट सिफारिसमा परेका थिए । तर, उनलाई उमेदवार नबनाएपछि गौतम पार्टीभित्र असन्तुष्ट रहेका थिए ।