
काठमाडौं, २० कात्तिक । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा ग¥यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए। यस्तै मोहम्मद हरिसले ३१ रन बनाउँदा कप्तान बाबर अजामले २५ रन बनाए ।
बंगलादेशका लागि नसुम अहमद,शाकिब अल हसन र इबादत हसनले १–१ विकेट लिए । त्यसअघि एडिलेडमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियोर ।
उसका लागि ओपनर नाजमुल हुसेन शान्तोले अर्धसतकीय इनिङ्स खेले। ४८ बल खेलेका उनले ७ चौकासहित ५४ रनमा आउट भए । यस्तै आफिफ हसनले २४ रन बनाउँदा सौम्य सरकारलेले २० रन जोडे । लिथन दासले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशलाई सस्तैमा रोक्न पाकिस्तानका शाहिन साह अफ्रिदीले करियरकै उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । शादव खानले २ तथा हरिश रौफ र इफ्तिखार अहमदले समान १–१ विकेट लिए ।
योसँगै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुग्ने चौथो टिम बनेको छ । यसअघि भारत, न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।
आइतबारको पहिलो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकामाथि अप्रत्यासित जित निकालेपछि सेमिफाइनलको दौडबाट दक्षिण अफ्रिका बाहिरियो भने भारत समूहको अन्तिम खेलअगावै सेमिफाइनलमा पुगेको छ ।
समूह ए बाट न्युजिल्याण्ड विजेता र इंग्ल्याण्ड उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका छन् । समूह बीबाट भने विजेता टुंगिन बाँकी छ । भारतले आइतबारै जिम्वाबेसँग खेलदैछ ।
अब सेमिफाइनलमा समूह ए को विजेता र बी को उपविजेता तथा समूह बी को विजेता र एको उपविजेताबीच प्रतिस्पर्धा हुनेछ ।