निर्वाचन बिथोल्न विभिन्न २३ समूह सक्रिय : गृह मन्त्रालय
अखबार टुडे
प्रकाशित:
२०७९, १९ कार्तिक

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन बिथोल्न देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले जनाएको छ । शनिबार विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्टीमा गृह मन्त्रालयले यस्तो निष्कर्ष गरेको जनाएको हो ।

गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तैपनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय छन् ।’ उलने ती २३ समूहरुमध्ये केही समूहमा ५–७ जनामात्रै रहेको पनि बताए ।

उनले निर्वाचन विरोधी गतिविधि गर्ने जुनसुमै समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न जिल्ला तहका सुरक्षा निकायले ध्यान दिने बताए । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्षरूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको उनको भनाइ छ ।

निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेको उनले बताए ।
मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने बताउँदै उनले भने, ‘पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ ।’

उनकाअनुसार निर्वाचन सुरक्षाका लागि देशभर म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन हुनेछन् ।

प्रतिक्रिया