सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन अदालतको आदेश
अखबार टुडे
प्रकाशित:
२०७९, १८ कार्तिक

काठमाडौं, १८ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको कारागार चलान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।

मुद्दाको किनारा नलागेसम्म आरोपितलाई थुनामै राख्न आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

शुक्रबार दुबै पक्षको बहस सकिएसँगै अदालतले आदेश दिएको हो । आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेकी थिइन् । बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका थिए ।

पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए । चार जना सरकारी वकिल र तीन जना अन्य वकिलहरूले बहस गरेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो । सन्दीपविरूद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।

२४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया