
काठमाडौं, १८ कार्तिक । परराष्ट्र मन्त्रालयका अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।
बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल उनलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी ३२ वर्षीया आस्थाको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते छन् । उनको उपचार महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।
आस्था परराष्ट्र मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत थिइन् । उनी २०६९ सालमा परराष्ट्र सेवामा प्रवेश गरेकी हुन् । उनले यसअघि इजरायलस्थित नेपाली राजदूतावासमा सेवा गरिसकेकी छन् । उनले राहदानी विभागमा पनि काम गरेकी थिइन् ।