टी-२० विश्वकप: पाकिस्तानको जितपछि सेमिफाइनल समीकरण रोमाञ्चक, चार टोलीको सम्भावना कस्तो ?
अखबार टुडे
प्रकाशित:
२०७९, १८ कार्तिक

काठमाडौं, १८ कात्तिक । अष्ट्रेलियामा जारी पुरूष टी-२० विश्वकपको ग्रुप-२ मा पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएरपछि सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ ।

सुपर–१२ को अन्तिम खेल नभएसम्म सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो नलाग्ने भएको हो । समूह २ मा रहेका सबै टिमको एक–एक खेल बाँकी छ ।

पाकिस्तानले बिहीबार दक्षिण अफ्रिकालाई ३३ रनले हराएसँगै सेमिफाइनलमा पुग्ने आशा जीवितै बनाएको छ । तुलनात्मक रूपमा समूहबाट भारत र दक्षिण अफ्रिकालाई सेमिफाइनल पुग्न सहज छ ।

सेमिफाइनल पुग्न कसको सम्भावना कस्तो ?
भारत
४ खेलमा ३ जितसहित ६ अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ । भारतले अब अन्तिम खेल आइतबार जिम्बावेसँग खेल्नेछ । जिम्बावेलाई हराए समूह विजेता भएर सेमिफाइनलमा पुग्नेछ । वर्षाले खेल रोकिएर अंक बाढ्नुपरे पनि सेमिफाइनल पक्का हुनेछ ।

यदि हारेको खण्डमा पनि उसको सम्भावना कायमै रहनेछ । यसका लागि भारतले पाकिस्तान र बंगालादेशबीच हुने खेल पर्खनुपर्ने हुन्छ । यो खेलको विजेतालाई रनरेटमा पछि पार्न सके भारत अन्तिम चारमा पुग्नेछ ।

दक्षिण अफ्रिका
चार खेलमा दक्षिण अफ्रिकाले ५ अंक जोड्दै दोस्रो स्थानमा छ । आफ्नो अन्तिम खेलमा नेदरल्याण्डलाई हराए सेमिफाइनलमा पुग्नेछ । यदि वर्षाले खेल रोकिएर अंक बाढ्नुपर्ने अवस्थामा भने अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ । तर हार व्यहोरेको खण्डमा बाहिरिनेछ ।

पाकिस्तान
चार खेलमा चार अंकसहित तेस्रो स्थानमा रहेको पाकिस्तानले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई फराकिलो अन्तरमा हराउनुका साथै अन्य टोलीमा भर पर्नुपर्नेछ ।

पाकिस्तानलाई सेमिफाइनल पुग्न भारत र दक्षिण अफ्रिकामध्ये कुनै एक टोलीले हार्नैपर्ने हुन्छ । या दक्षिण अफ्रिका र नेदरल्याण्डबीचको खेल वर्षाले रद्द हुनुपर्छ । यस्तै अवस्थामा ६ अंक भएर राम्रो रनरेटको आधारमा पाकिस्तान अन्तिम चारमा पुग्नेछ । अन्य नतिजाले पाकिस्तान बाहिरिनेछ ।

बंगलादेश
समान चार अंकै जोडेको बंगलाखेशले आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई फराकिलो अन्तरमा हराउनुका साथै अन्य टोलीमा भर पर्नुपर्ने हुन्छ । बंगलादेशलाई सेमिफाइनलमा पुग्न भारत र दक्षिण अफ्रिका दुबैले आफ्नो खेल हार्नुपर्ने हुन्छ ।

या दक्षिण अफ्रिका र नेदरल्याण्डबीचको खेल वर्षाले रद्द हुनुपर्छ । यस्तै अवस्थामा ६ अंक भएर राम्रो रनरेटको आधारमा बंगलादेश सेमिफाइनलमा पुग्नेछ। अन्य नतिजाले बंगलादेश बाहिरिनेछ ।

समूहमा रहेका जिम्बावे र नेदरल्याण्डको सेमिफाइनल यात्रा टुंगिसकेको छ । जिम्बावेले चार मध्ये १ खेल जितेको छ भने २ खेलमा अंक बाढ्न बाध्य थियो । यसबाट ३ अंक जोडेर पाँचौ स्थानमा छ। यस्तै समूहको पुछारमा रहेको नेदरल्याण्डले ४ मध्ये १ खेल जितेर २ अंक जोडेको छ ।

प्रतिक्रिया