गुल्मी-२ मा रोचक प्रतिस्पर्धा : पूर्व सहकर्मी झाँक्री विष्टलाई चुनौती
अखबार टुडे
प्रकाशित:
२०७९, १७ कार्तिक

काठमाडौं, १७ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीबीच गुल्मी–२ मा रोचक प्रतिस्पर्धा हुँदैछ । यी दुई पूर्व सहकर्मी हुन् । तर, यस पटक यी दुईबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

गुल्मी–२ बाट २०५६ सालदेखि लगातार चुनाव लड्दै आएका विष्टका लागि आफ्नै पूर्वसहकर्मी झाँक्री चुनौती बनेका छन् । पूर्वमन्त्री समेत रहेकी झाँक्री एकीकृत समाजवादीकी सचिव पनि हुन् । उनी सत्ता गठबन्धनका दलको साझा उम्मेदवार हुन् ।

हालसम्म प्रतिस्पर्धा गरेका चुनावमध्ये २०६४ सालको पहिलो संविधानसभा चुनावमा नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर थापा (सागर)सँग हार व्यहोर्नुबाहेक सबै चुनाव जितेका विष्टलाई यस पटक भने चुनाव जित्न झाँक्री चुनौती बनेकी छन् ।

सत्तारुढ गठबन्धनको साथ र आफ्नो राष्ट्रिय छविका कारण झाँक्री पनि जित निकाल्ने विश्वासमा छिन् । झाँक्रीलाई चुनावमा आफैंले जित्नुपर्ने र एमाले विभाजन गरेर बनेको नयाँ पार्टीलाई स्थापित गर्नुपर्ने चुनौती पनि छ ।

दुबै नेता मतदातालाई आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्रमै विभिन्न कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । चुनावी कार्यक्रमहरुमा विष्ट र झाँक्री दुबैले एक अर्काबारे टिप्पणी गर्ने गरेका छन् । विष्टले झाँक्रीलाई लक्षित गरी जिल्लाको विकासका लागि सिन्को नभाँच्ने र टुरिष्ट उम्मेदवारको रुपमा झुल्किने गरेको टिप्पणी गरेका छन् ।

यस्तै, झाँक्रीले पनि विष्टलाई लक्षित गरी इमानको राजनीति गरेको भए अहिलेको चुनावमा आफूलाई सहयोग गर्नुपर्ने बताएकी छन् । अघिल्लो निर्वाचनमा आफूले विष्टका लागि मत मागेको भन्दै उनले अहिले विष्टले सघाउनुपर्ने बताउने गरेकी छन् ।

एकीकृत समाजवादीमा गएकामध्ये पनि जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इन्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेताहरु २० भदौमा एमालेमा फर्किए । ०४८ सालमा कांग्रेसका रुद्रमणि भण्डारीले जितेबाहेक गुल्मी–२ (साविकको क्षेत्र नम्बर–३)मा वामपन्थी उम्मेदवारले नै जित्दै आएका छन् ।

विष्टले ०७४ सालको चुनावमा कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई साढे १४ हजार मतान्तरले हराएका थिए । आफूले विगतमा पनि जनताको सेवा र विकासको धेरै काम गरेको र त्यसको निरन्तरताका लागि आफूले जित्नुपर्ने विष्टको भनाइ छ ।
गोकर्ण विष्टले असोज २३ गते मनोनयन दर्ता गरेपछि घरदैलो अभियान सुरु गरेका थिए । उनी आफ्नो निर्वाचन क्षेत्रको सबै स्थानीय तहमा एक पटक पुगिसकेका छन् ।

२०७४ मा चुनाव जितेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका विष्टले ७ वटै प्रदेशबाट श्रम स्वीकृतिको थालनी गरेको र गुल्मी–२ मा सडक पूर्वाधार विकासमा थुप्रै काम गरेको बताएका छन् । अपूरा योजना पूरा गर्न पनि आफूले जित्नुपर्ने विष्टको भनाइ छ ।

मनोनयन दर्ताअघि नै एक पटक निर्वाचन क्षेत्रका गाउँ भ्रमण गरेकी झाँक्री २३ असोजमा मनोनयन दर्ता गरेपछि पनि निरन्तर निर्वाचन क्षेत्रमै छिन् ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडास्तरमा दलहरुले पाएको मत हेर्दा गुल्मी–२ मा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । स्थानीय तहमा एमाले एक्लैले ३१ हजार २५३ मत ल्याएको थियो । नेपाली कांग्रेसले २९ हजार ८२१, नेकपा माओवादी केन्द्रले १ हजार ८४१ मत पाएका थिए ।

झाँकीको दल एकीकृत समाजवादीले भने जम्मा ६५८ मत पाएको थियो । राष्ट्रिय जनमोर्चाको ५६ मतसमेत जोड्दा गठबन्धन एमालेभन्दा १ हजार १२३ मतले अघि हुन्छ । गुल्मी क्षेत्र नम्बर २ मा १ लाख ४ हजार ३ सय ७ मतदाता छन् ।
झाँक्रीले सत्तारुढ गठबन्धनमा रहेका सबै दलको मतदाताको मत पाएर एमालेको मतसमेत काट्नुपर्ने गुल्मीको राजनीतिका जानकारहरु बताउँछन् ।

नेपाली कांग्रेसका सहसचिव धर्म पाण्डे झाँक्रीले गठबन्धनमा रहेका दलको भोट पाउने दावी गर्छन् । केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिगमनको विरोधमा खेलेको भूमिका र केन्द्रीय नेतृत्वको निर्णयअनुसार झँक्रीलाई विजयी गराउन सशक्त भूमिका खेल्ने उनले बताए ।

०७४ मा समानुपातिक निर्वाचन प्रणालीबाट एमालेको सांसद बनेकी झाँक्री करिब ८ महिना शहरी विकासमन्त्री भइन् । लामो समय राजनीतिमा सक्रिय रहेपनि झाँक्री पहिलोपटक प्रत्यक्ष चुनाव लड्न लागेकी हुन् । एमालेमा हुँदा जिल्लामा राम्रो छवि रहेको र मन्त्री हुँदा राम्रो काम गरेको भन्दै उनले मत मागिरहेकी छन् । उनले युवा, आदिवासी जनजाति र महिलाको मतसमेत तान्ने अनुमान गरिएको छ

प्रतिक्रिया