पहिचानविरोधी आरोप खेपेका योगेशलाई ताप्लेजुङमा कति सहज ?
अखबार टुडे
प्रकाशित:
२०७९, १७ कार्तिक

ताप्लेजुङ, १७ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचन नजिकिँदै गर्दा एमाले नेता योगेश भट्टराईले विभिन्न आरोपको सामना गर्नु परेको छ । प्रतिनिधिसभाका लागि एमालेका उम्मेदवार भट्टराई गठबन्धनको घेराबन्दीमा परेका हुन् ।

घरदैलो अभियानका क्रममा फक्ताङलुङ गाउककपालिका–५ हेल्लोक पुगेका कांग्रेस सभापति गजेन्द्रप्रसाद तुम्याहाङले योगेश भट्टराई संस्कृति मन्त्री हुँदा पाथीभरा क्षेत्रको जग्गा कौडीको भाउमा कम्पनीलाई दिएको, तिम्वूङ पोखरीलाई विष्णु पोखरी बनाएको, सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी विमानस्थल बनाएको लगायतका आरोप लगाए ।

त्यसको एक सातापछि कांग्रेस जिल्ला कार्य समितिका पूर्वसभापति दिपेन्द्र सेन्दाङले आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी पुगेर भट्टराईलाई नग्याउनु पर्ने र सके मोसो दल्नुपर्ने आक्रोश पोखे । वामदेव गौतम गृहमन्त्री हुँदाको मुख्य योजनाकार तथा कालो बजारीकरण गर्नेको नाइके भएको लान्छना लगाए ।

दुवैले दिएको अभिव्यक्तिको भिडियो माओवादीको भातृ संगठन वाईसीएलका जिल्ला अध्यक्ष कैलाश लिम्बूले आफ्नो फेसबूक पेजबाट सार्वजनिक गरे ।

यस्तै स्वतन्त्र उम्मेदवार सञ्जुहाङ पालुङवाले आफ्नो घोषणा पत्रमा भट्टराईको नाम नलिई ताप्लेजुङबाट जितेर जाने जनप्रतिनिधिले गरेका ‘जनघाती’ काम भन्दै सूची सार्वजनिक गरे ।

नेपाल वायु सेवा निगमलाई नीजिकरण गरी १ खर्बभन्दा बढी रहेको सम्पत्तिलाई ५० अर्बमा बेच्ने प्रयास गरेको, विभिन्न देशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन निजी विमान प्रयोग गरेको लगायतका आरोप लगाएका छन् ।

केही दिनअघि भट्टराईले दिएको अभिव्यक्तिलाई लिएर ताप्लेजुङबासीले आपत्ति जनाएका छन् । उनहरुले योगेश भट्टराई र योगेश लिम्बू एउटै हो ? भनेर प्रश्न गरेका छन् । चुनावी प्रचारप्रसारको क्रममा भट्टराईले एक कार्यक्रममा भनेका थिए, ‘मुक्कुमलुङ भनेपनि एउटै हो । पाथीभरा भनेपनि एउटै हो ।’

केही समययता पूर्वकै चर्चित धार्मिक र पर्यटकीय स्थल पाथीभरालाई ‘मुक्कुमलुङ’को पहिचान दिलाउन आन्दोलन चलिरहेको बेला उत्त अभिव्यक्ति दिएका थिए ।

पहिचान विरोधीको आरोप खेपेका उनले सामाजिक सञ्जाल र सम्बोधनको क्रममा उठेका सवालहरूको भट्टराईले विज्ञप्ति निकालेर जवाफ दिए । उनले संविधानको प्रस्तावनामा लेखिएको विशेषताप्रति एमालेको पूर्ण विश्वास र प्रतिबद्धता रहेको उल्लेख गरेका छन् ।

उनले किरात धर्मगुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्दै जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेको स्मरण गराए ।

तिम्बुङ पोखरी, फुङफुङे झरनालाई नेपालका सय पर्यटकीय गन्तब्यमा राखेर वजेट विनियोजन गरिएको, उक्त पोखरीको नाम परिवर्तन गर्न नखोजिएको सुकेटार विमानस्थलको नामका विषयमा आफुले त्यही बेला सामाजिक सञ्जालबाट आपत्ति जनाएको उल्लेख गरेका छन ।

स्वतन्त्र सहित ११ उम्मेदवार रहेको प्रतिनिधिसभाका लागि मुख्य प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका खेलप्रसाद बुढाक्षेत्री र एमालेका योगेश भट्टराई छन् । स्थानीय तह निर्वाचनलाई नियाल्ने हो भने उनीहरूबीच तीब्र प्रतिस्पर्धा छ । धेरैको आँखाको तारोचाहिँ भट्टराई बनेका छन् ।

तर उनको आलोचनासँगै समर्थन पनि उत्तिकै रहेको एमालेका निवर्तमान जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङको दाबी छ । अध्यक्ष साम्सोहाङले उनी राष्ट्रिय नेता भएकाले आलोचना समर्थन दुवै हुनु स्वाभाविक भएको बताए । उनले माओवादीले आफू नबोलेर कांग्रेसलाई उत्तेजक बनाएर प्रयोग गरेकोमा उनको टिप्पणी छ ।

८८ हजार २ सय ८५ मतदाता रहेको जिल्लामा गत स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेबीच पूर्ण गठबन्धन भएको थियो भने नेकपा एससँग आंसिक भएको थियो ।

६१ वटा वडा रहेको ताप्लेजुङमा एमालेले २४ हजार ९ सय ९५, कांग्रेसले १८ हजार ६ सय १८, माओवादी ४ हजार ४ सय ९७, स्वतन्त्र १ हजार ९ सय ७२, नेकपा एस ८ सय ५४, जसपा ५ सय ४१ र राप्रपाले ३ सय ९७ मत प्रात गरेका छन् ।

प्रदेश सभा १ मा एमाले १२ हजार १ सय २५, कांग्रेस ९ हजार ३ सय २३, माओवादी २ हजार ९, स्वतन्त्र १ हजार ७ सय ९५, लिम्बूबान ५ सय ६१, एस ४ सय ८३ र राप्रपाले ३ सय ७९ मत ल्याएका थिए । प्रदेश सभा २ मा एमाले १२ हजार १ सय ७०, कांग्रेस ९ हजार २ सय ९५, माओवादी २ हजार ४ सय ८८, जसपा ५ सय ४१, एसको ३ सय ७१ छ ।

प्रतिक्रिया