काठमाडौं-७ : रामवीर मानन्धर भन्छन्, ‘यो चुनाव मेरो अन्तिम, जित सुनिश्चित छ’
अखबार टुडे
प्रकाशित:
२०७९, १७ कार्तिक

काठमाडौं, १७ कार्तिक । काठमाडौं–७ का स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले आफ्नो जित सुनिश्चित देखेका छन् । अघिल्लो निर्वाचन नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी यसपटक पनि काठमाडौं–७ का जनताले आफूलाई मत दिनेमा विस्वस्त भएका हुन् ।

पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका पूर्वराज्यमन्त्रीसमेत रहेका मानन्धर भन्छन्, ‘अघिल्लोपटक पनि एमालेका कार्यकर्ताको मतले मात्र जितेको होइन, यहाँका जनताको मतले जित हासिल गरेको हुँ ।’
काठमाडौं–७ मा एमालेको सक्रिय सदस्य १५÷१६ सय पनि नभएको बताउँदै उनले भने, ‘तर, मैले यो क्षेत्रमा १८ हजारभन्दा बढी मत ल्याएर जितेको हुँ ।’

उनले यो नै आफ्नो अन्तिम निर्वाचन भएको पनि बताए । आफूले गरेका बाँकी कामहरु पूरा गर्ने सोचले उम्मेदवारी दिएको बताउँदै उनले भने, ‘यो मेरो अन्तिम निर्वाचन हो । हारेपनि जितेपनि अर्को निर्वाचन लड्दिनँ ।’

उनले घण्टाघर चुनाव चिन्ह पाएका छन् । अहिले उनी काठमाडौं–७ का जनतालाई चुनाव चिन्ह ‘घण्टाघर’मा मतदान गर्न आह्वान गरेका छन् । ‘काठमाडौं–७ को विकास र सभ्यताको संरक्षणका लागि पनि मंसिर ४ गते हुने निर्वाचनमा चुनाव चिन्ह ‘घण्टाघर’ मतदान गर्न सबैमा अनुरोद्ध गर्दछु’ उनले भने ।

मानन्धर काठमाडौं–७ का जनतामाझ लोकप्रिय छन् । सरकारमा बसेर होस् वा बाहिरी समाजमा गरेका आफ्ना कामबाट काठमाडौं–७ का जनता सन्तुष्ट रहेको उनको भनाइ छ ।

देशको संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्नका लागि पनि आफूले स्वतन्त्र उम्मेदवारी बताउँदै उनले भने, ‘देशको राजनीतिक परिवेशलाई उजागर गर्नुपर्ने दिन आएको छ । संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्न मेरो स्वतन्त्र उम्मेदवारी हो । म आत्मविश्वासका साथ भन्नसक्छु जनताले राम्रो मान्छे मन पराउँछ । जसले काम, विकास गरेको छ त्यसैलाई जिताउँछन् ।’

अर्को कुरा, सरकारमा रहँदा पनि उनले गुठीबारे शसक्त आवाज उठाएका थिए । त्यसबेला गुठी विधेयक ल्याउने सरकारले तयारी गर्दा उनले आफ्नै पार्टीका प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।

काठमाडौंका रैथाने नेवारको पुर्खाले व्यवस्था गरेर राखेको गुठी विधेयक आवश्यक नरहेको भन्दै उनले त्यसबेला उपत्यकाको सभ्यता र संस्कृतिसँग जोडिएको गुठीको हकमा छुट्टै प्राधिकरण बनाएर व्यवस्थापा गर्न सकिने सुझाव दिएका थिए ।

काठमाडौं–७ मा २०४९ सालदेखि राजनीतिमा सक्रिय मानन्धर वडा अध्यक्ष हुँदै राज्यमन्त्रीसम्म भएर विकासको काममा लाग्दै आएका हुन् । उनले भने, ‘यहाँका जनताले मेरो कामलाई हेरेर पनि मत दिनेछन् भन्नेमा म विस्वस्त छु । त्यहीमाथि यो मेरो अन्तिम चुनाव हो । अर्को पटक चुनाव लड्दिन । मैले थालेका अधुरा कामहरु पूरा गर्नका लागि पनि यहाँका जनताले मलाई मत दिनुपर्छ भन्ने मेरो धारणा हो ।’

काठमाडौं–७ मा मानन्धरसँग सत्ता गठबन्धनका तर्फबाट नेपाल समाजवादी पार्टी (नेसपा)की मानुषी यमी भट्टराईले उम्मेदवारी छन् । मानुषी संसदीय निर्वाचनका लागि नयाँ अनुहार हुन् । साथै, मानन्धरले आफू चुनाव जित्ने दावी गरिरहेका बेला मानषीका यो चुनावमा चुनौती बनेको देखिन्छ ।

प्रतिक्रिया