
काठमाडौं, १७ कात्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला र नगरका विभिन्न नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
उनीहरुले मङ्गलबार धरानमा पत्रकार सम्मेलन गरेर विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य तथा प्रदेश नं. १ निर्वाचन परिचालन कमिटीका सभापति सञ्जीव भट्टराई, सुनसरी जिल्ला सचिव तथा प्रदेश नं. १ निर्वाचन परिचालन कमिटीका उपसभापति प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगरपालिकाका सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश कमिटी सदस्य शिल्पा भट्टराईलगायत छन् ।
निर्वाचन परिचालन कमिटीका सभापति भट्टराईले पार्टी सञ्चालनको अवस्था, आलोचनाप्रति असहिष्णु नेतृत्व, आर्थिक अपचलन, पार्टी सभापति लामिछानेप्रति लागेका अनैतिक आचरण, पारदर्शी आर्थिक गतिविधि, विगतमा लागेको आत्महत्या दुरुत्साहन मुद्दाजस्ता आरोप सही त थिएनन् भन्ने आशङ्का जन्मिएको र निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै कानुनी प्रक्रियामा जाने निर्णयका साथ पार्टी परित्याग गरेको बताए ।
