उत्तर कोरियाले जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि ‘जे-अलर्ट’ जारी
अखबार टुडे
प्रकाशित:
२०७९, १७ कार्तिक

काठमाडौं, १७ कात्तिक । उत्तर कोरियाले जापानतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यद्यपि मिसाइलले क्षति पुर्याएको छैन ।

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि सुरक्षाका लागि बिहीबार जापान सरकारले जे–अलर्ट जारी गरेको र यो निकै खतरापूर्ण अवस्थामा मात्र जारी हुने बताइएको छ ।

जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापान सरकारले मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दाहरूलाई घरभित्र वा बंकरभित्र रहन आह्वान गरेको थियो ।

जापानका अधिकारीहरुले सुरुमा उत्तर कोरियाको क्षेप्यास्त्र जापान माथिबाट उडेको बताएका थिए । तर रक्षामन्त्री यासुकाजु हमादाले भने जापानी द्वीप समूह पार नगरेको र जापानको सागरमा हराएको बताएका छन् ।

उत्तर कोरियाले बुधबार मात्रै दक्षिण कोरियातर्फ २३ मिसाइल प्रहार गरेको थियो । तीमध्ये एक मिसाइल दक्षिण कोरियाको जल सिमानाको केही टाढा खसेको थियो । यसको जवाफमा दक्षिण कोरियाले लडाकु विमानमार्फत् आकाशबाट जमिनमा आक्रमण गर्न मिल्ने मिसाइल उत्तरकोरियातर्फ प्रहार गरेको थियो ।

दक्षिण कोरिया र अमेरिकाबीच एयरफोर्स ड्रिलपछि उत्तर कोरियाको तर्फबाट आक्रामक कदम उठाउने सिलसिला जारी रहेको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाले उक्त ड्रिल रोक्न आह्वान गरेको थियो । त्यसको जवाफमा दक्षिण कोरियाले अमेरिका र दक्षिण कोरिायाबीचको सम्बन्ध बिगार्ने प्रयास सफल नहुने बताएको थियो ।

प्रतिक्रिया