उत्तर कोरियाले पहिलो पटक दक्षिणी जल सीमाभित्र क्षेप्यास्त्र प्रहार गरेपछि जवाफी कारबाही
अखबार टुडे
प्रकाशित:
२०७९, १६ कार्तिक

काठमाडौं, १६ कात्तिक (एजेन्सी) । उत्तर कोरियाले दक्षिण कोरियातर्फ बुधबार बिहान ९ बजेतिर क्षेप्यास्त्र प्रहार गरेको थियो । सो आक्रमणको जवाफमा दक्षिण कोरियाले तीनवटा मिसाइल प्रहार गरेको छ ।

दक्षिण कोरियाले हावाबाट सतहमा हान्न सक्ने तीन मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको करिब तीन घण्टापछि प्रहार गरिएको उक्त क्षेप्यास्त्र उत्तरी सीमा रेखाबाट केही टाढा खसेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।

यो रेखाले अस्पष्ट रूपमा दुई देशबीच समुद्र विभाजित गर्दछ । तर, उत्तर कोरिया भने उक्त सीमा रेखालाई स्वीकार गर्दैन ।

यसअघि उत्तर कोरियाले एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार गरेको बताइएको थियो । जसमा एउटाले समुद्री सीमाको रूपमा मानिआइएको एउटा विवादित सीमारेखा पार गरेको थियो ।

यसपछि टापुमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो । कोरिया विभाजन भएयता पहिलो पटक दुई देशबीचको समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार भएको छ ।

प्रतिक्रिया