ब्राजिलका राष्ट्रपति जइरद्वारा हार अस्विकार : यसअघि उनी भन्थे- मलाई भगवानले मात्र हटाउन सक्छ
अखबार टुडे
प्रकाशित:
२०७९, १५ कार्तिक

काठमाडौं, १५ कार्तिक । ब्राजिलमा नयाँ राष्ट्रपतिको रुपमा लुइज इनासियो लुला दा सिल्भा विजयी भएका छन् । तर, निर्वाचन प्रमुखले लुलालाई राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको २४ घण्टाभन्दा बढी वितिसक्दा पनि पराजित बहालवाला राष्ट्रपति जइर बोल्सोनारुले हार स्विकारेका छैनन् ।

बीबीसीले उल्लेख गरेअनुसार वामपन्थी धारका चर्का प्रतिस्पर्धीसँग झिनो अन्तरले चुनाव हारेपछि उग्र दक्षिणपन्थी राष्ट्रपति राजधानी ब्रसिलियास्थित आफ्नो सरकारी निवास छाडेका छैनन् । उनको मौनताले चुनावी नतिजा नस्विकार्न सक्ने चिन्ता बढाएको छ । समाचारमा जनाइएअनुसार विगतमा उनले मतदान प्रणालीबारे अपुष्ट सन्देहहरू व्यक्त गरेका थिए ।

विगतमा बोल्सोनारुले सार्वजनिक गरेका चर्का वक्तव्यमा उनले आफूलाई ‘भगवानले मात्र’ पदबाट हटाउन सक्ने जस्ता अभिव्यक्ति दिएका थिए । जसले गर्दा उनको सार्वजनिक उपस्थितिलाई व्यग्रतापूर्वक प्रतीक्षा गरिएको बीबीसीले जनाएको छ ।

ब्रजिलको सर्वोच्च निर्वाचनसम्बन्धी अदालतले स्थानीय समयअनुसार आइतवार साँझ ८ बजे लुलाले राष्ट्रपतीय निर्वाचन जितेको घोषणा गरेको थियो । सबै मतगणना सकिँदा लुलाले ५०.९ प्रतिशत र बोल्सोनारुले ४९.१ प्रतिशत मत पाएका थिए ।

जितयता लुलाले आफ्ना पराजित प्रतिद्वन्द्वीबारे केही बोलेका छैनन् । बरु उनले सोमवार ब्रजिल आएका अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डिजसँग भेट गरेको बताइएको छ ।

प्रतिक्रिया