माओवादीको चुनावी घोषणापत्र: शासकीय स्वरुपमा परिवर्तन गर्न संविधान संशोधनमा जोड, अरु के छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, १४ कार्तिक

काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रले आगामी चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिएको छ । माओवादीले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राखेको छ ।

संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने उल्लेख गरेको छ । संसद् मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने प्रतिबद्धता गरेको छ ।

प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने छ ।

१६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रियसभा भएको संघीय संसद् र समग्रमा ३३० सिटको प्रदेशसभा हुने उल्लेख गरेको छ ।
संघमा २५ जनामा नबढाई र सम्बन्धित प्रदेशसभामा कुल सांसद संख्याको १५ प्रतिशतमा नबढाई सानो आकारको मन्त्रीमण्डल गठन गर्ने व्यवस्था गरिने छ । त्यस्तै राज्य पुनर्संरचना आयोग गठन गरी स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गर्ने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया