भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु, ५० अझै बेपत्ता
अखबार टुडे
प्रकाशित:
२०७९, १४ कार्तिक

काठमाडौं, १४ कात्तिक (एजेन्सी) । भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो ।

घटनामा १०० जना घाइते भएका छन् भने अन्य ५० जना अझै सम्पर्क विहीन रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सारसुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ ।

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

वर्षौं पुरानो मोरबी पुल हालैमात्रै मर्मत गरिएको थियो । केही वर्षयता बन्द रहेको उक्त पुल दीपावलीको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको थियो ।

उक्त पुलमा चढ्नका लागि वयस्कलाई भारु १७ र बालबालिकालाई भारु १२ शुल्क लिइन्थ्यो । आइतबार साँझ उक्त पुलमा क्षमताभन्दा बढी मानिसहरु रहेकाले पुल चुडिएको अनुमान छ ।

स्थानीयका अनुसार पुल चुडिने बेला त्यहाँ करिब ४०० जना मानिसहरु रहेको अनुमान छ । यद्यपि कति जनाले टिकट काटेका थिए भनेर तथ्यांक केलाउने काम पनि भइरहेको भारतीय मिडियाहरुले लेखेका छन् ।

प्रतिक्रिया