
गोरखा, १३ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा आफूलाई रिल्याक्स भइरहेको बताएका छन् । उनले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको समेत बताएका छन् ।
आइतबार गोरखामा आयोजित निर्वाचन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स फिल भइरहेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि अहिले सबैभन्दा सहज यही हो । एक ढंगले रिल्याक्स फिल गरेको छु ।’
उनले निश्चित सपना बोकेर आफू गोरखा आएको पनि बताए । प्रचण्डले भने, ‘अब विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्नेछु ।’ उनले नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा गोरखा–२ बाट यसअघि निर्वाचित नेता डा. बाबुराम भट्टराईप्रति कृतज्ञता व्यक्त गरे ।
प्रचण्डले भने, ‘सधैं एउटै मान्छे हुनु ठीक होइन भनेर उहाँले उदारता व्यक्त गर्नुभयो, तर मलाई यहाँ हुनुपर्छ भनेर जोड गर्नुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’ प्रचण्डलाई रिल्याक्स फिल हुनुको एउटा कारणमध्ये बाबुरामको साथ पनि हो ।
त्यसबाहेक प्रचण्डले राजनीतिको प्रारम्भ गोरखाबाटै गरेका थिए । त्यसैले पनि प्रचण्डले आफ्नो लागि यो चुनाव अहिलेसम्मकै सहज भएको बताउँदै आएका हुन् । प्रचण्डको यो भनाइले गोरखा–२ मा आफ्नो जित सुनिश्चित देखेका छन् भन्ने प्रष्ट हुन्छ ।
गोरखा–२ मा आफ्नो उम्मेदवारी घोषणा गरेसँगै प्रचण्ड गोरखाबासीसँग निरन्तर चुनावी छलफल गरिरहेका छन् । चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा प्रचण्डलाई डा. बाबुराई भट्टराईले साथ दिइरहेका छन् ।
बाबुरामले पनि जसरी हुन्छ, गोरखा–२ बाट प्रचण्डलाई जिताउने अभियानमा लागेका छन् । आइतबार नै एक कार्यक्रममा उनले चुनावपछिको प्रधानमन्त्री प्रचण्ड नै हुने बताउँदै मतदाताहरुलाई मत मागेका थिए । उनले कार्यक्रममा भने, ‘अबको प्रधानमन्त्री उहाँ नै हो । यही क्षेत्रको प्रधानमन्त्री भएपछि कसरी विकास नहोला र ?’
