कप्तान एन्जिलाले भारतमा वुमेन्स आई-लिग खेल्ने
अखबार टुडे
प्रकाशित:
२०७९, १३ कार्तिक

काठमाडौं, १३ कात्तिक । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले भारतको वुमेन्स आई–लिग खेल्ने भएकी छन् ।

भारतीय फुटबल महासंघ (एआईएफएफ) को आयोजनामा हुँदै आएको हरो इन्डियन वुमन्स लिग खेल्न एन्जिला सेथु एफसीमा अनुबन्धित भएकी हुन् ।

उनका अनुसार सेथुसँग एक वर्षको अनुबन्ध गरेकी छिन् र अबको सिजन खेल्नेछिन् । नेपालमा एपीएफका लागि व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला आई–लिग खेल्ने तेस्रो नेपाली महिला खेलाडी हुनेछिन् ।

यसअघि साबित्रा भण्डारी र अनिता बस्नेतले आई–लिग खेलेका थिए । भण्डारी र बस्नेतले भारतमा लिग खेल्दै उपाधि नै जितिसकेका छन् । सावित्रा र अनिताले सन् २०१९ मा सेथुबाट खेल्दै उपाधि जितेका थिए । यस्तै सावित्राले २०२० मा गोकुलम केरलाबाट खेल्दै उपाधि जितेकी थिइन् । सावित्रा पुनः गोकुलम केरलासँग अनुबन्ध भइसकेकी छन् ।

सेथु सन् २०१८–२०१९ को आई–लिग च्याम्पियन हो र गत सिजन उसले उप–विजेतामै चित्त बुझाएको थियो । सेथुले एन्जिलाको लागि आउने जाने हवाई खर्च र बस्ने खाने सबै खर्च उपलब्ध गराउनेछ । सम्झौता रकम भने खुलाइएको छैन ।

प्रतिक्रिया