कोरियाको राजधानी सिओलमा भागदौड हुँदा १५१ जनाको मृत्यु, दर्जनौँ घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, १३ कार्तिक

काठमाडौं, १३ कार्तिक । दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड हुँदा १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । समाचार संस्था बीबीसीका अनुसार मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेका छन् ।

तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । हेलोविन पर्व मनाउनका लागि इथेवन भन्ने स्थानमा ठूलो भिड जम्मा भएको थियो । त्यही भिडमा एकजना व्यक्ति लडेपछि भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सन्चार माध्यमहरुले जनाएका छन् ।

घटनामा मृत्यु हुनेमा धेरैजसो युवाहरु रहेको अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई सडकमै सुताएर उपचार गरिएको भिडियोमा देखिन्छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान गर्न तथा घाइतेहरुको उद्धार तथा उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।

यो घटनापछि अमेरिकी राष्ट्रपति जो बिडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत विश्वभरका नेताहरुले समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया