अमेरिकी सभामुख न्यान्सी पेलोसीको पतिमाथि घरभित्रै आक्रमण
अखबार टुडे
प्रकाशित:
२०७९, १२ कार्तिक

काठमाडौं, १२ कार्तिक । अमेरिकी संसदको तल्लो सदनकी सभामुख नेन्सी पेलोसीका पति पाउल पेलोसीमाथि शुक्रबार आक्रमण भएको छ । उनीमाथि आफ्नै घरमा ह्यामरले आक्रमण गरिएको बीबीसीले उल्लेख गरेको छ ।

समाचार जनाइएअनुसार आक्रमणको कारण उनको दायाँ हातको हड्डी फुटेको छ भने उनको शल्यक्रिया गरिएको छ ।
संदिग्ध आक्रमणकारीले नेन्सी पेलोसीलाई खोज्दै पाउलमाथि आक्रमण गरेका थिए । यो आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले ४२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको वासिंगटन पोष्टले उल्लेख गरेको छ ।

अहिलेसम्म आक्रमणकारीले किन नेन्सी पेलोसीलाई खोजेका थिए भन्ने खुलेको छैन । आक्रमणको समयमा पेलोसी वासिङटन डीसीको अर्को क्षेत्रमा थिइन् । आक्रमणपछि उनी आफ्ना श्रीमान्लाई भेट्न अस्पताल पुगेकी थिइन् ।

डेमोक्रेट्सका प्रवक्ताले दिएको जानकारीअनुसार शुक्रबार बिहान पाउल पेलोसीमाथि आक्रमण भएको हो । आक्रमणकारीले नेन्सी पेलोसीलाई खोज्दै पाउललाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए ।

नोभेम्बर ८ मा हुन लागेको मिडटर्म चुनावको केही दिनअघि सभामुखका परिवारमाथि भएको यो आक्रमणले अमेरिकी राजनीतिमा तरंग ल्याएको छ ।

राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको भत्सर्ना गरेका छन् । विपक्षी रिपब्लिकन पार्टीका हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेटका नेताहरूले पनि आक्रमणको निन्दा गरेका छन् ।

प्रतिक्रिया