ट्विटरको मालिक बनेसँगै एलन मस्कले बर्खास्त गरे सिइओसहित उच्च कर्मचारी
अखबार टुडे
प्रकाशित:
२०७९, ११ कार्तिक

काठमाडौं, ११ कात्तिक (एजेन्सी) । ट्विटरको स्वामित्व लिएसँगै अर्बपति एलन मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका छन् ।

बिहीबारमात्रै ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका मस्कले सिइओ पराग अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगल, लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेका हुन् ।

द न्युयोर्क टाइम्सका अनुसार उनले ४४ अर्ब डलरमा ट्विटर किनेका छन् । उनीहरूलाई बर्खास्त गरिएकोबारे दुबै पक्षले औपचारिक जानकारी दिएका छैनन् ।

मस्कले शुक्रबारसम्म ट्विटर किनिसक्नु पर्ने समयसीमा अदालतबाट पाएका थिए । केही महिनाअघि ट्विटर किन्ने सम्झौता गरेका उनी पछि उक्त सम्झौताबाट हट्न खोजेका थिए । उनको कदमविरूद्ध ट्विटरले अदालतमा मुद्दा हालेपछि अदालतले मस्कलाई अक्टोबर २८ सम्म सीमा दिएको थियो ।

मस्कले बर्खास्त गरेका अग्रवाल गत वर्ष ट्विटरको सिइओ नियुक्त भएका थिए । केही महिनाअघि मस्क र अग्रवालले सार्वजनिक रूपमै एक–अर्काको आलोचना गरेका थिए ।

प्रतिक्रिया