
काठमाडौं, १० कार्तिक । याक्थुङ कुरुम्बाङ सङ्जुम्भो, उपत्यका समितिले सदाझैँ यस वर्ष पनि बलिहाङ तङ्नाम (तिहार)मा ‘नाम्लिङगेक लारिङ्गेक’ देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा सङ्जुम्भोले स्थापनाकालदेखि नै कुरुम्बाङ दाजुभाइ तथा चेलीबेटीको घरआँगनमा शुभकामना आदान प्रदान गर्ने हेतुले नामलिङ्गेक लारिङ्गेक आयोजना गर्दै आएको हो । यसैलाई निरन्तरता दिँदै सङ्जुम्भोले यस वर्ष पनि देउसी भैलो आयोजना गरिएको सङ्जुम्भोे उपत्यका समितिका अध्यक्ष मीन प्रसाद कुरुम्बाङले बताए ।

पूर्वी नेपालको तेह्रथुम, पाँचथरलगायतका जिल्लाबाट आएर काठमाडौंमा विभिन्न पेसा, व्यवसायी गर्दै आएका कुरुम्बाङ दाजुभाइ तथा चेलीबेटी र भानाभाञ्जाहरुको घरआँगनमा लिम्बू कला, संस्कृति र संस्कारअनुसार दुई दिनसम्म देउसी भैलो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्य तथा कुरुम्बाङ दाजुभाइको बनभोजमा खर्च गरिने पनि अध्यक्ष मीनप्रसाद कुरुम्बाङले जानकारी दिए ।

दुई दिनको अवधिमा काठमाडौं, भक्तपुर र ललितपुरको विभिन्न स्थानमा रहेका कुरुम्बाङ दाजुभाइ र चेलीबेटीको घरआँगनमा देउसी भैलो आयोजना गरिएको थियो । कार्यक्रम भाइटिकाको अघिल्लो दिन बुधबार चाबहिलस्थित जगत मन्दिर स्कुलमा एक समारोहबीच सम्पन्न गरिएको थियो ।
देउसी भैलो समापन कार्यक्रममा नामलिङ्गेक लारिङगेकमा सहभागी कलाकार तथा भट्याउनेलाई संस्थाको नियमअनुसार परिश्रमिकसहित सम्मान प्रदान गरिएको थियो । उनीहरुलाई संस्थाका संस्थापक अध्यक्ष होमभक्त कुरुम्बाङले सम्मान गरेका थिए ।
