ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने दौडमा सामेल भएको पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७९, ६ कार्तिक

काठमाडौं, ६ कात्तिक । बेलायतका पूर्व अर्थमन्त्री ऋषि सुनकले कन्जरभेटिभ पार्टीको नेता तथा बेलायतको प्रधानमन्त्री बन्ने दौडमा आफू सामेल भएको घोषणा गरेका छन् ।

लिज ट्रसको राजीनामापछि ऋषिले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने अनुमान गरिएको थियो ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै सुनकले आइतबार एक ट्वीटमा लेखेका छन्, ‘बेलायत एक महान देश हो तर हामी गहिरो आर्थिक संकटको सामना गरिरहेका छौं ।’

सुनकले आफूले देशको अर्थतन्त्रको सुधार र पार्टीलाई एकताबद्ध राख्न बताएका छन् ।उनले २०१९ को घोषणापत्रमा गरेका वाचा पूरा गर्नुपर्नेमा जोड दिए । सुनकले आफ्नो कार्यकालमा सरकार हरेक तहमा इमान्दार, व्यावसायिक र जवाफदेही हुने बताए ।

उनले पेनि मोर्डन्टसँग प्रतिस्पर्धा गर्नेछन् । पूर्वप्रधानमन्त्री बोरिस जोनसनले पनि उम्मेदवारीको इच्छा व्यक्त गरेका छन् ।

लिज ट्रसले अक्टोबर २० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । प्रधानमन्त्री भएको ४५ दिनमै ट्रसले राजीनामा दिएकी हुन् । – बीबीसीबाट

प्रतिक्रिया