बन्द गरिएको प्याराग्लाइडिङ उडान आजदेखि खुला, यस्तो छ ५ शर्त
अखबार टुडे
प्रकाशित:
२०७९, ६ कार्तिक

पोखरा, ६ कात्तिक । देशैभर अनिश्चितकालका लागि बन्द गरिएको प्याराग्लाइडिङ उडान आइतबार देखि खुला भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो ।

प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएको फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीले जानकारी दिए ।

शर्तअनुसार तोकेको क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपर्ने छ ।

त्यस्तै, प्राधिकरणले व्यवसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर वर्दिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने उल्लेख गरेको छ ।

प्राधिकरणले पाइलटको रिफ्रेसर एडभान्स टेन्डम तथा आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नैपर्ने शर्त राखेको छ ।

असोज ३० गते नवौं संस्करणको राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ ‘क्रसकन्ट्री’ प्रतियोगिताका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका खेलाडी २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो ।

दुर्घटनापछि तत्कालै देशैभरि प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि स्थगन गरेको थियो भने प्याराग्लाइडिङ उडानलाई नियमित, सुरक्षित र व्यवस्थित बनाउन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेयको कात्तिक २ गते संयोजकत्वमा कमिटी गठन गरिएको थियो ।

प्रतिक्रिया