सी जिनपिङ तेस्रो पटक सीपीसीको महासचिवमा निर्वाचित, ली छ्याङ नयाँ प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७९, ६ कार्तिक

बेइजिङ, ६ कात्तिक (एजेन्सी) । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले सी जिनपिङलाई पुनः महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ ।

सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।

एक दशकदेखि सत्तामा रहेका सी तेस्रो पटक सत्तामा आएर इतिहास रचेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि चीनमा तेस्रो पटक कुनै पनि नेता सत्तामा आएका थिएनन् ।

सी चिनफिङले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीमा पोलिटब्युरो स्थायी समिति निर्णय गर्ने सर्वोच्च निकाय हो । उक्त समितिमा महासचिवसहित ७ जना हुन्छन् ।

उनको टोलीमा ली छ्याङ, शाओ लेजी, वाङ हुनिङ, काई के, डिङ्ग सेसियाङ्ग र ली सी सामेल छन् । जसमध्ये ली छ्याङलाई नयाँ प्रधानमन्त्री बनाइएको छ । ६३ वर्षीय ली छियाङ वरीयतामा चनफिङपछि छन् । छियाङ सन् २०१७ मा सांघाईमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख बनेका थिए । त्यसअघि उनी झेजियाङका गभर्नर थिए ।

सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएका छन् । अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन छन् ।

अवकाश लिएका लि खछ्याङ प्रधानमन्त्री समेत हुन् भने वाङ याङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् । त्यस्तै ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुन् भने हान झेन उपप्रधानमन्त्री हुन् ।

ग्लोबल टाइम्सका अनुसार आगामी आइतबार बस्ने नवनिर्वाचित केन्द्रीय कमिटी बैठकबाट पोलिटब्यूरो र पोलिटब्यूरो स्थायी समिति चयन गर्नेछ ।

पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले आफ्नो सम्बोधनमा भनेका छन्, ‘ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद।’ उनले मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढने बताए ।

प्रतिक्रिया