
तेह्रथुम, ५ कार्तिक । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको तेह्रथममा प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई चुनावी मैदानमा छन् । माओवादीको केन्द्रीय सदस्यसमेत रहेका उनी युवा मतदाताको रोजाइमा छन् ।
यस्तै, एमालेले तेजमान कन्दङवालाई मैदानमा उतारेको छ । एमालेको जिल्ला अध्यक्षसमेत रहेका कन्दङवा निवर्तमान प्रदेशसभा सदस्यसमेत हुन् । क्षेत्र नम्बर २ मा आठराई, फेदाप र मेन्छ्यायेम गरी तीन गाउँपालिका पर्दछन् । ०७४ मा तीनवटै स्थानीय तहमा एमाले विजयी भएको थियो । तर, स्थानीय तह निर्वाचनमा भने कन्दङवाले पराजित भएका थिए ।
गत स्थानीय तह निर्वाचनमा फेदाप र आठराई गाउँपालिकामा कांग्रेस–माओवादीको गठबन्धन विजयी भएको थियो । यी दुवै स्थानीय तहको वडामा समेत कांग्रेस उम्मेदवार बहुमतसहित विजयी भए । त्यसैले पनि यसपटक कन्दङवाले चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । यो क्षेत्रमा ३२ हजार ८ सय १२ मतदाता छन् ।
यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र–१ मा पनि गठबन्धनबाट कांग्रेसका सन्तोष सुब्बा र एमालेका किशोरचन्द्र दुलालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेको प्रदेश कमिटी सदस्यसमेत रहेका ६५ वर्षीय किशोरचन्द्र दुलाललाई गठबन्धनका उम्मेदवार सुब्बाले टक्कर दिएका छन् । कांग्रेसको पुर्वजिल्ला सचिव रहेका सुब्बा महासमिति सदस्य छन् ।
दुलाल पूर्वजिविस सभापति भइसकेका नेता हुन् । पार्टी राजनीतिमा मात्रै रहेका सुब्बा जिल्लामा युवा मतदातामाझ लोकप्रिय छन् । शिक्षण पेसा छोडेर तत्कालीन जिल्ला विकास समितिको नेतृत्व गरिसकेका दुलाल सुब्बाका लागि बलियो प्रतिद्वन्द्वी हुन् ।
गठबन्धन दलको सहमतिविरुद्ध उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्ण चोङवाङले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाएका छन् ।
म्याङलुङ र लालीगुराँस नगरपालिका र छथर गाउँपालिका रहेको यो क्षेत्रमा लालीगुराँस नगरपालिकाबाहेक दुई स्थानीय तह एमालेले जितेको छ । यो निर्वाचन क्षेत्रमा ३९ हजार १ सय २१ मतदाता छन् । यहाँको छथर गाउँपालिका र म्याङलुङ नगरपालिका एमालेको बलियो क्षेत्र मानिन्छ ।