इमरान खानले पाँच वर्षसम्म चुनाव लड्न नपाउने
अखबार टुडे
प्रकाशित:
२०७९, ४ कार्तिक

इस्लामावाद, ४ कात्तिक (एजेन्सी) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएको छ ।

सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै खान लाई त्यहाँको निर्वाचन आयोगले पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहर गरेको हो ।

प्रधानमन्त्री शहबाज शरीफको दल मुस्लिम लीग (नवाज) का नेता बैरिस्टर मोहसिन नवाज रांझाले संविधान को धारा ६३ (२) को मातहत इमरान खानले उपहारबारे ढाँटेको भन्दै संघीय संसदका सभामुख समक्ष उनीविरुद्ध उजुरी गरेका थिए ।

इमरानले प्रधानमन्त्री हुँदा उपहार लिएको तर उनले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा त्यसलाई समावेश नगरेको आरोप रांझाले लगाएका थिए ।

त्यही मुद्दामा सुनुवाइ गर्दै प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजा नेतृत्वको बेञ्चले इमरानले ५ वर्ष चुनाव लड्न नपाउने फैसला गरेको हो । आयोगले गरेको फैसला अनुसार गलत बयान दिएको आरोपमा इमरानमाथि कारबाही सुरु हुने छ ।

आयोगको फैसलापछि खानका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै निर्वाचन आयोग आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । खानको तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीले आयोगको फैसलाविरूद्ध इस्लामावाद उच्च अदालतमा पुनरावेदन गर्ने बताएको छ ।

१९५२ मा लाहोरको उच्च मध्यम वर्गीय परिवारमा जन्मिएका इमरान सन् १९७१ मा पाकिस्तानको राष्ट्रिय टिममा डेब्यू गरे । अर्को वर्ष उनी अक्सफोर्ड पढ्न गए । अक्सफोर्ड विश्वविद्यालयबाट दर्शन, राजनीति र अर्थशास्त्रमा स्नातक गरे ।

१९७७ को सिड्नी टेस्टमा उनले १२ विकेट लिएर सनसनी मच्चाए । अष्ट्रेलियाको केरी प्याकर्स वर्ल्ड क्रिकेट सिरिजबाट उनी अन्तर्राष्ट्रिय स्टार बने।

१९८२ मा उनले एक वर्षमा ६२ विकेट लिए। त्यही वर्ष उनी पाकिस्तानको कप्तान बने। उनी क्रिकेट इतिहासमै सबैभन्दा उत्कृष्ट केही अलराउन्डरमध्ये दरिए ।

राष्ट्रिय टोलीबाट १७ वर्ष खेलेपछि सन् १९८८मा उनले क्रिकेटबाट संन्यास घोषणा गरे। राष्ट्रपतिले नै अनुरोध गरेपछि उनी फेरि क्रिकेट मैदानमा छिरे।

सन् १९९२ मा उनको कप्तानीमा पाकिस्तानले विश्वकप उचाल्यो। पाकिस्तानले अहिलेसम्म जितेको एकदिवसीय विश्वकप त्यही हो। त्यही वर्ष इमरानले क्रिकेट सधैँका लागि छोडे र समाजसेवामा लागे।

१९९४ मा उनले क्यान्सर अस्पताल बनाउन २ करोड ५० लाख डलर उठाए। लाहोरमा उनले आफ्नी आमाको नाममा खोलेको उक्त अस्पताल पाकिस्तानकै उत्कृष्ट क्यान्सर अस्पताल हो।

उनका विरोधीले उनको विवाह र सम्बन्धलाई देखाउँदै उनको चरित्र र आस्थामाथि प्रश्न उठाउँछन् । जवानीमा उनी प्लेब्योइका रूपमा पनि चर्चामा थिए। सुन्दरी र मोडलहरूसँग उनको सम्बन्ध सधैँ अखबारमा हेडलाइन बन्थे ।

सन् १९९५ मा उनले धनाढ्यकी छोरी जेमिमा गोल्डस्मिथसँग बिहे गरे। २००४ मा उनीहरूको सम्बन्धविच्छेद भयो । २०१५ मा उनले रेहम खानसँग दोस्रो विवाह गरे । त्यो एक वर्ष पनि टिकेन। यही वर्ष उनले बुसरा मनिकासँग तेस्रो विवाह गरेका छन् ।

प्रतिक्रिया