विप्रेषण १९.८ प्रतिशतले वृद्धि, दुई महिनामै भित्रियो एक खर्ब ८७ अर्ब
अखबार टुडे
प्रकाशित:
२०७९, ४ कार्तिक

काठमाडौं, ४ कातिक । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आवको दोस्रो महिनासम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमवल आठ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११ दशमलव तीन प्रतिशतले वृद्धि भई रु एक अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक सय ७० प्रतिशतले वृद्धि भई एक लाख तीन हजार आठ सय ९८ पुगेको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७० दशमलव छ प्रतिशतले वृद्धि भई ३९ हजार एक ८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या चार सय २९ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १९ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु दुई खर्ब छ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया