
पोखरा, ४ कात्तिक । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै बिहीबार विश्राम लिएको हो ।
दसौँ राष्ट्रिय खेलकुदको मिति २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म तोकिएको छ । पोखरा रङ्गशालामा भएको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई दसौँ राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरेर नवौँ राष्ट्रिय खेलकुद समापन गरे ।
प्रधानमन्त्री देउवाले पदक तालिकामा सबभन्दा अग्रस्थानमा रहने आर्मी टिमलाई रनिङ ट्रफी पनि प्रदान गरे । राष्ट्रिय खेलकुद प्रतियोगितामा यस पटक रनिङ ट्रफीको नयाँ सुरुवात भएको हो ।
सुन र चाँदीजडित रनिङ सिल्ड तीन संस्करण लगातार जित्नेले आफ्नो बनाउन सक्ने प्रावधान राखिएको छ । यस पटक व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदक विजेतालाई १५ हजार रुपियाँ पनि पुरस्कार दिइएको थियो ।
नेपाली सेना १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित कुल ३७१ पदकका साथ टिम च्याम्पियन बन्न सफल भयो । एपीएफ ६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी कुल २१९ पदक तथा नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्यसहित १९५ शीर्ष तीनमा रहन सफल भए । आयोजक गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्यसहित कुल १२० पदक जित्न सफल भयो ।
पाँचौं स्थानको बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी कुल १४५ पदक जित्न सफल भयो । छैठौं स्थानमा प्रदेश एक रह्यो । उसले १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक भित्र्यायो ।
सातौं स्थानमा रहेको सुदूरपश्चिमले १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कुल ६३ पदक जित्न सफल भयो । एनआरएनए टिम आठौं भयो । उसले १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २६ पदक हात पा¥यो ।
लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी कुल ६८ पदक जित्दै नवौं स्थानमा रह्यो । दसौं स्थानको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी कुल ३९ पदक हात पा¥यो । अन्तिम स्थानमा कर्णाली प्रदेश रह्यो । उसले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी कुल १८ पदक जित्न सफल भयो ।
प्रधानमन्त्री देउवाले ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नारासहित भएको नवौँ राष्ट्रिय खेलकुद सफल बनाउने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरे ।
उनले नवौँ राष्ट्रिय खेलकुदमा खेल्ने क्रममा निधन हुने पाराग्लाइडर निसिम थापा र उनका परिवारप्रति समवेदना व्यक्त गर्दै आगामी दिनमा यस प्रकारको दुःखद घटना घट्न नदिन आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई निर्देशन दिए ।
गत आइतबार पोखरा सराङकोटको आकाशमा क्रसकन्ट्री पाराग्लाइडिङ खेल्ने क्रममा २६ वर्षीय निसिमको दुर्घटनामा परी मृत्यु भएको थियो ।
यसैगरी प्रधानमन्त्री देउवाले खेलकुदमा राष्ट्रिय प्रतियोगिता नियमित रूपमा आयोजना नहुँदा खेलाडी पलायन हुने डर हुने भन्दै खेलकुद क्षेत्रलाई पनि व्यवस्थित तरिकाले अघि बढाउन सरकार कटिबद्ध रहेको जानकारी गराए ।
नवौँ संस्करणमा ३६ खेलका ३९६ इभेन्ट्स सम्पन्न भए । यसमध्ये क्रिकेट र सुटिङ खेल काठमाडौँमा भएका थिए । कुल छ हजार १२७ जना खेलाडीको सहभागिता रह्यो । जसमध्ये तीन हजार ४१४ पुरुष र दुई हजार ७१३ महिला खेलाडी रहेका थिए ।
व्यक्तिगत प्रदर्शनमा आर्मीकी पौडी खेलाडी डुवाना लामाले सर्वाधिक नौ स्वर्ण र एक रजत पदक जिते । पौडीकै नासिर हुसेनले सात स्वर्ण, दुई रजत र एक कांस्य पदक प्राप्त गरेर नायकका रूपमा उभ्याए ।
राजु राईले पनि एक्लैले सात स्वर्ण पदक हासिल गरेर आफूलाई नेपालमा नम्बर एक जिम्न्यास्ट साबित गरे । पौडीकी एस्ली सापकोटा डङ्गोलले छ स्वर्ण, दुई रजत तथा गौरिका सिंहले पाँच स्वर्ण र एक रजत तथा जयरानी थारूले पाँच स्वर्ण पदक जितेर नवौँ राष्ट्रिय खेलकुदमा आफ्नो नाम चम्काउन सफल भए ।
