वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण विवाद: छानबिन गर्न समिति गठन
अखबार टुडे
प्रकाशित:
२०७९, ४ कार्तिक

काठमाडौं, ४ कात्तिक । वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नका लागि भन्दै दाताबाट झिकिएको मिर्गौला अलपत्र छाडेर चिकित्सक हिँडेको घटनामा बिरामीको सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ ।

बिरामीको हाल अरू नै अस्पतालमा भइरहेको डाइलासिस पनि वीरमा नै गर्ने सहमति भएको छ ।

धादिङकी ३२ वर्षीया महिलाका लागि उनकी सासूले मिर्गौला दिएकोमा शल्यक्रिया गरेर मिर्गौला निकालेपछि बिरामीसँग नमिल्ने भनी डाक्टरले त्यसै छाडेर हिँडेको आरोप लागेको थियो । वीर अस्पताल प्रशासनले भने घटना त्यस्तो नभई झिकिएको मिर्गौला बिरामीसँग नमिलेकाले प्रत्यारोपण नगरिएको दाबी गरेको छ ।

घटनाबारे छानबिन गर्न स्वास्थ्य मन्त्रालयले डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको वीर अस्पतालका प्रवक्ता सागर मिश्रले बताए ।

छानबिन समितिका सदस्यहरूमा रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा. अशेष ढुङ्गाना, सीटीभीएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक सङ्गीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का छन् ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले नबुझीकन जथाभावी आरोप लगाइएको बताए । उनले हालसम्म वीर अस्पतालमा ४९९ जनाको मिर्गौला प्रत्यारोपण सफल हुँदा त्यही चिकित्सकले गरेको प्रत्यारोपण असफल हुन नसक्ने बताए ।

मङ्गलबार वीर अस्पतालका प्रत्यारोपण सर्जनद्वय डा. पारस श्रेष्ठ र डा. अनिल श्रेष्ठले धादिङकी ३२ वर्षीया महिलाको मिर्गौला प्रत्यारोपणको तयारी गरेर मिर्गौला निकालेपछि मिर्गौला दाता र लिने व्यक्तिबीच मिर्गौला नमिलेको भन्दै छोडेर हिँडेको आरोप लागेको थियो ।

ती ३२ वर्षीया महिलालाई उनकी ५८ वर्षीया सासूआमाले मिर्गौला दिएका थिए । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. बस्नेतले यसमा चिकित्सकको गल्ती नभएको बरु भवितव्य भएको दाबी गरे । – गोरखापत्रबाट

प्रतिक्रिया