
सर्लाही, ३ कात्तिक । सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् ।
उनीहरुलाई सर्लाहीको बलरास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यका १९ वर्षीय आलोक सिंह, १९ वर्षीय सौरभकुमार यादव र १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् । सर्लाहीको धनकौल गाउँपालिका–१ का ३२ वर्षीय डिजे भन्ने धीरेन्द्र सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार धीरेन्द्र घटनाको मुख्य योजनाकार एवं सहयोगी हुन् । उनको एउटा खुट्टामा गोलीसमेत लागेको छ ।
बुधबार बिहान ११ः१५ बजे सर्लाहीको बागमती नगरपालिका १ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका २ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको थियोे ।
आफ्नै कार्यालयमा काम गरिरहेको बेला अपरिचित ३ जना मानिसहरु आएर कार्कीलाई ४ राउन्ड गोली प्रहार गरेका थिए । कार्कीको दायाँ पाखुरा, दायाँ कोखा, बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको थियोे । कार्कीको अहिले काठमाडौंमा उपचार भैरहेको छ ।
पक्राउ परेकाहरुलाई सर्लाही प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।