आबे हत्या प्रकरण: युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न प्रधानमन्त्री किसिदाको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, २ कार्तिक

काठमाडौं, कात्तिक २ (एजेन्सी) । जापानका प्रधानमन्त्री फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा उक्त चर्च जोडिएपछि किसिदाले अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

गत जुलाई ८ मा चुनावी अभियानमा रहेका बेला आबेलाई गोली हानिएको थियो । ती व्यक्तिले आफ्नी आमाले थुप्रै पैसा चर्चलाई दान दिएको कारण टाट पल्टिएको बताएका थिए । आबेले पनि त्यही चर्चलाई प्रवर्द्धन गरेको भन्दै उनीमाथि गोली हानेको उनले प्रहरीलाई बताएका थिए ।

त्यसपछि उक्त चर्चसँग राजनीतिज्ञहरूको सम्बन्ध भएकै कारण चर्चले पाएका सुविधाबारे छानबिन गर्न चर्को माग उठेको थियो ।
धार्मिक समूहका रूपमा रहेको उक्त चर्चमाथि अनुसन्धान गर्न सुरूमा आनाकानी गरेका प्रधानमन्त्री किसिदाले सोमबार चर्चमाथि तत्काल अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

युनिफिकेसन चर्चको स्थापना सन् १९५० को दशकमा कोरियाली नागरिक सन म्योङ मुनले स्थापना गरेका हुन् । केही वर्षपछि यसको बिस्तार जापानमा पनि भएको थियो । चर्चले आफ्ना स्टाफहरूलाई नेताहरूको कार्यालयमा स्वंयसेवकका रूपमा पठाउने गर्छ । त्यसैबाट राजनीतिक सम्बन्ध बिस्तार गर्छ ।

यो चर्चलाई द फ्यामिली फेडेरेसन फर वर्ल्ड पिस एन्ड युनिफिकेसन भनिन्थ्यो । तर अहिले धेरैले यसलाई युनिफिकेसन चर्च भनेर चिन्छन् ।

प्रतिक्रिया