मल्लिकार्जुन खड्गे बने भारतीय कंग्रेसको नयाँ अध्यक्ष
अखबार टुडे
प्रकाशित:
२०७९, २ कार्तिक

नयाँदिल्ली, २ कात्तिक (एजेन्सी) । भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा ८० वर्षीय मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । कुल ९ हजार ३८५ मतमध्ये खड्गेले ७ हजार ८९७ मत ल्याएर विजयी भएका हुन् ।

बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार उनका प्रतिस्पर्धी शशि थरूरले १ हजार ०७२ मत ल्याए । ४१६ मत बदर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खड्के पछिल्लो २ दशकमा भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गर्ने गान्धी परिवारभन्दा बाहिरको व्यक्ति हुन् । गान्धी परिवार बाहिरका भए पनि गान्धी परिवारसँग उनको निकट सम्बन्ध छ । यो चुनावमा गान्धी परिवारले उनैलाई सघाएको भारतीय राजनीतिक वृत्तमा चर्चा छ ।

८० वर्षीय खड्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कंग्रेसलाई नेतृत्व गर्नेछन् । उनले पार्टीको पुनर्संरचना गर्ने मुद्दा अघि सारेका छन् । कर्नाटकाका दलित समुदायका खड्गे भारतको माथिल्लो सदन राज्य सभाका सदस्य छन् ।

कंग्रेसले २२ वर्षपछि चुनाव गरेर नेतृत्व चयन गरेको हो । सन् २००० मा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हालेकी थिइन् । गान्धी परिवारको विशेष पकड रहेको कंग्रेसमा उनी लगातार २०१७ सम्म अध्यक्ष भइन् । त्यसपछि उनका छोरा राहुल गान्धी बिना चुनाव अध्यक्ष चुनिए ।

सन् २०१४ को आम चुनावमा पराजय व्यहोरेको कंग्रेसले सन् २०१९ को आम चुनाव पनि हारेपछि राहुलले राजीनामा दिएका थिए । राहुलले राजीनामा दिएपछि सोनिया फेरि कंग्रेसकी अध्यक्ष बनेकी थिइन् ।

प्रतिक्रिया