डलर जोगाउन भन्दै अभिनेत्री नोरा फतेहीको नृत्य कार्यक्रम बंगलादेशद्वारा रद्द
अखबार टुडे
प्रकाशित:
२०७९, १ कार्तिक

काठमाडौं, १ कात्तिक (एजेन्सी) । बंगलादेश सरकारले राजधानी ढाकामा हुन लागेको बलिवुड अभिनेत्री नोरा फतेहीको नृत्य कार्यक्रम रद्द गरिदिएको छ ।

बंगलादेशको सांस्कृतिक मामिलासम्बन्धी मन्त्रालयले सोमवार एक सूचना जारी गर्दै उक्त निर्णय गरेको हो ।

देशमा विदेशी मुद्राको सञ्चिति जोगाइराख्न अभिनेत्री नोरा फतेहीको ‘डान्स शो’ गर्न अनुमति नदिइएको बंगलादेश सरकारले जनाएको छ ।

मन्त्रालयले भनेको छ, ‘विश्वव्यापी अवस्थालाई ध्यानमा राख्दै र बंगलादेशको केन्द्रीय बैंकले डलर भुक्तानीमा कडाइ गर्न निर्देशन दिएको हुनाले विदेशी मुद्राको भण्डार कायम राखिराख्ने उद्देश्यले उक्त कदम चाल्नु परेको हो ।’

वुमन लिडरशीप कोर्पोरेशनको आयोजनामा हुने कार्यक्रममा नृत्य गर्न र अवार्ड वितरण गर्न नोरालाई ढाका आमन्त्रित गरिएको थियो ।

अहिले संसारका अन्य देशहरूमा जस्तै बंगलादेशको अर्थव्यवस्थामा पनि समस्या देखापरेको छ । गत वर्ष ४६.१३ अर्ब डलर भण्डार रहेकोमा अहिले त्यो खस्किएर ३६.३३ अर्ब डलरमा झरेको छ । जानकारहरूका अनुसार यति रकमले बाङ्ग्लादेशको केबल चार महिनाको मात्र आयात धान्न सक्छ ।

प्रतिक्रिया