आइफोनसँगै चार्जर नदिएपछि एप्पललाई साढे २ अर्ब जरिवाना
अखबार टुडे
प्रकाशित:
२०७९, १ कार्तिक

काठमाडौं, १ कत्तिक (एजेन्सी) । ब्राजिलको एक अदालतले आइफोन खरिदकर्तालाई मोबाइलसँगै चार्जर उपलब्ध नगराएको भन्दै एप्पल कम्पनीमाथि १० करोड ब्राजिलियन रियल (करिब साढे दुई अर्ब रुपैयाँ) जरिवानाको फैसला गरेको छ ।

साओपाउलो स्टेट कोर्टले एप्पल विरुद्ध उक्त फैसला सुनाएको हो । साथै अदालतले आइफोनसँगै बक्समा ग्राहकलाई चार्जर पनि उपलब्ध गराउन एप्पललाई आदेश दिएको छ ।

एप्पल कम्पनीविरुद्ध एसोसिएसन अफ बारोअर्स, उपभोक्ता समूह तथा करदाताले मुद्दा दायर गरेका थिए । एप्पलले चार्जर बिनाका फ्लागसिप आइफोन बिक्री गरेर गलत अभ्यास गरिरहेको उनीहरुको दाबी थियो ।

एप्पलले भने ब्राजिलियन अदालतको उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । कार्बन उत्सर्जन तथा विद्युतीय फोहोर कम गर्न आइफोनसँगै बक्समा चार्जर उपलब्ध गराउन छाडेको एप्पलको जिकिर छ । एप्पलले हाल नयाँ आइफोनको बक्समा सँगै चार्जर राखेको हुँदैन । उसले ग्राहकहरुलाई छुट्टै चार्जर बेच्ने गरेको छ ।

ग्रीन इनिसिएटिभका नाममा एप्पलले ग्राहकमाथि छुट्टै चार्जर किन्ने बाध्यता थोपरेको अदालतको ठहर छ । यसअघि एप्पलले नयाँ आइफोनसँगै बक्समा नयाँ चार्जर पनि दिने गरेको थियो । तर सन् २०२० आइफोन–१२ बजारमा ल्याएसँगै एप्पलले आइफोनको बक्ससँगै सित्तैंमा चार्जर दिन बन्द गरेको थियो ।

नयाँ आइफोनसँगै चार्जर उपलब्ध नगराउने एप्पलको कदमका कारण यसअघि पनि एप्पलले जरिवाना तिरिसकेको छ । यसअघि पनि ब्राजिल सरकारले एप्पल कम्पनीमाथि करिब एक करोड २२ लाख ब्राजिलियन रियल जरिवाना गरेको थियो ।

ब्राजिलको न्याय मन्त्रालयले एप्पलमाथि अधुरा सामान ग्राहकलाई थमाउने गरेको ठहर गर्दै आइफोन–१२ र त्यसपछिका आइफोन सिरिज बिक्रीमा रोक लगाएको थियो ।

प्रतिक्रिया