देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द
अखबार टुडे
प्रकाशित:
२०७९, ३० आश्विन

काठमाडौं, ३० असोज । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना परी एक जना खेलाडीको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभरका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार अब उडान सुरक्षाबारे प्राधिकरणले सुक्ष्म अध्ययन गर्ने भएको छ ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्याराग्लाइडिङ खेलाडी नेपाली सेनाका २६ वर्षीय निसिम थापाको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको हो ।

प्याराग्लाइडिङ गर्दागर्दै उनी करिब सय मिटरमाथिबाट सराङकोटमा खसेका थिए । पोखरा–१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो ।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया