चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन सुरु
अखबार टुडे
प्रकाशित:
२०७९, ३० आश्विन

काठमाडौं, ३० असोज (एजेन्सी) । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन बेइजिङमा सुरु भएको छ । आइतबार बिहान राजधानी बेइजिङको ग्रेट हल अफ द पिपलमा पार्टीको अधिवेशन सुरू भएको हो ।

एक सातासम्म चल्ने यो सम्मेलनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा सी चिनफिङ तेस्रो कार्यकालका लागि पुनः चयन हुने निश्चित मानिएको छ ।

६९ वर्षीय सी चिनियाँ राष्ट्रपति समेत हुन् । सन् २०१२ मा पहिलो पटक महासचिव भएका सीले यसअघि नै चिनियाँ कम्युनिष्ट पार्टीको विधानबाट दुई कार्यकालको सीमा हटाइसकेका छन् ।

शीर्ष नेतृत्वमा सी दोहोरिए पनि चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीमा यसपालि धेरै फेरबदल हुने अनुमान गरिएको छ ।

सम्मेलनको सुरुवात गर्दै सीले आफ्नो प्रतिवेदन पेस गरिरहेका छन् । जसमा उनले गएका पाँच वर्षका प्रमुख उपलब्धि प्रस्तुत गर्नुका साथै आगामी पाँच वर्षको कार्यदिशा अघि सारेका छन् । यो सम्मेलनमा २ हजार २९६ प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया