आजदेखि अस्ट्रेलियामा टी-२० विश्वकप
अखबार टुडे
प्रकाशित:
२०७९, ३० आश्विन

काठमाडौं, ३० असोज । ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप आजदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । १६ टोली सहभागी हुने आठौं संस्करणको टी–२० विश्वकप प्रतियोगिता दुई चरणमा हुनेछ ।

पहिलो चरण अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । पहिलो खेलमा श्रीलंका र नामिबियाबीच खेल हुनेछ । खेल नेपाली समय अनुसार बिहान ९ः ४५ बजे सुरू हुनेछ । यस्तै दोस्रो खेल नेदरल्याण्ड र युएईबीच दिउँसो १ः४५ बजे हुनेछ।

पहिलो चरणको समूह एमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन् । यस्तै समूह बी मा आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । पहिलो चरणका दुबै समूहका शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन् । पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरू हुनेछन् ।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता हुनेछन् ।

त्यस्तै सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् । सुपर १२ मा दुबै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

टि–२० विश्वकपमा हालसम्म ७ संस्करण सकिँदा ६ टोली च्याम्पियन बनिसकेका छन् । दुई पटक विश्वकप जित्ने एक मात्र टोली वेस्टइन्डिज हो ।

२००७ मा भारत, २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्यान्ड, २०१२ मा वेस्टइन्डिज, २०१४ मा श्रीलंका, २०१६ मा वेस्टइन्डिज र २०२१ मा अष्ट्रेलिया टी–२० विश्वकप च्याम्पियन बनेका थिए ।

प्रतिक्रिया