आक्रमणको धम्कीपछि १८ वर्षीया राजकुमारी क्याथरिना दरबार फिर्ता
अखबार टुडे
प्रकाशित:
२०७९, २९ आश्विन

हेग, २९ असोज (सिन्ह्वा) । अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बस्दै आएकी हल्याण्डकी राजकुमारी क्याथरिना अमालिया त्यहाँ असुरक्षित महसुस गरेपछि राजप्रासादमा सरेकी छन् ।

स्वीडेनको राजकीय भ्रमणमा रहेका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्याण्डस्का सञ्चारमाध्यमलाई राजकुमारी दरबार फर्केको बताएका हुन् ।

‘उनको यो निर्णयले उनको जीवनको लागि ठूलो महत्व राख्दछ, अब उनी एम्स्टर्डममा बस्दिनन् र वास्तवमा बाहिर जान सक्दिनन्’ रानी म्याक्सिमाले छोरीको निर्णयको सराहना तथा उनीप्रति गर्व गर्दै भनिन् । राजा विलेम–अलेक्जेन्डरले आफ्नी छोरीको अवस्थालाई ‘अति कठिन’ भनेका छन् ।

राजकुमारी क्याथरिना

यसै वर्षको ग्रीष्मयाममा १८ वर्षीया राजकुमारी अध्ययन गर्न एम्स्टर्डमको एक आवासीय भवनमा सरेकी थियन् । गत महिना डे टेलिग्राफ अखबारले राजकुमारीको सुरक्षाका निम्ति उल्लेखनीय रूपमा काम गरिएको समाचार प्रकाशन गरेको थियो ।

राजकुमारीमाथि सङ्गठित आपराधिक गिरोहबाट आक्रमण वा अपरहणको जोखिम बढेको थियो । राजकुमारीमाथि आक्रमणको धम्कीपछि देशको सुरक्षा निकायले उनको सुरक्षा सुनिश्चित गर्न अहोरात्र कडा मेहनत गरिरहेको न्याय एवम् सुरक्षामन्त्री डिलन येसिलगोजले बताएका छन् ।

प्रतिक्रिया