सुनकोसी-मरिण डाइभर्सनको सुरुङ खन्न सुरू, निर्माण गर्न ४६ अर्ब लाग्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २८ आश्विन

काठमाडौं, २८ असोज । सुनकोसी मरिण डाइभर्सनको सुरुङ खन्ने काम शुक्रबारबाट सुरु भएको छ ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न थालिएको हो । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा सुरुङ खन्ने काम सुरु गरिएको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार यो आधुनिक मेसिनको प्रविधिबाट ठेकेदार चाइना ओभरसिज कम्पनीले दुई वर्षभित्रमा सुरुङ निर्माणको काम सक्नेछ ।

मरिणबाट १३ दशमलव तीन किलोमिटर सुरुङ खनेपछि सुनकोसी गाउँपालिकाको कानढुंग्री नजिक सुनकोसी नदीमा पुग्नेछ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणीभन्दा सात सय मिटर तल पर्छ ।

आयोजनाका अनुसार सुनकोसीमा १२ मिटर उचाइको बाँध निर्माण गरी नदीको पानी १३ दशमलव तीन किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ मेघावाट विद्युत उत्पादन गरिने छ ।

सुनकोसीको पानीलाई मरिण खोलामा झारेपछि विद्युत उत्पादनसँगै तराईका जिल्ला रौतहट, बारा, धनुषा,महोत्तरी र सर्लाहीमा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने छ ।

सुनकोसीको पानी मरिणखोलाबाट ४० किलोमिटर तल वाग्मती नदीमा मिसाएर बाँध बाँधी नहरमार्फत वितरण गरिने छ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्नेमा यो वर्ष सरकारले दुई अर्ब ७० करोड बिनियोजन गरेको छ ।

प्रतिक्रिया