मधेश सरकारबाट कांग्रेसका मन्त्रीलाई हटाउने राउतको तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, २८ आश्विन

जनकपुरधाम, २८ असोज । मधेश प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी गरिएको छ ।

सत्ता गठबन्धन छाडेरे नेकपा एमालेसँग गठबन्धन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ संघीय मन्त्रिपरिषदबाट जसपाका ४ मन्त्रीलाई बर्खास्त गरेको थियो ।

प्रधानमन्त्री देउवाले संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका थिए ।

जवाफमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका मन्त्रीलाई हटाउन लागेका हुन् ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।

उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेको बताइएको छ । राजीनामा नदिए आजै उनीहरुलाई पदमुक्त गर्ने तयारी मुख्यमन्त्री राउतको छ ।

सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनरविचार गरी कांग्रेसका मान्त्र मन्त्री हटाउने निष्कर्षमा पुगेको बताइएको छ । मधेश प्रदेश सरकारको नेतृत्व जसपाले गर्दै आएको छ ।

प्रतिक्रिया