हिन्दू विरोधी विज्ञापन नखेल्न आमिर खानलाई भारतीय मन्त्रीको अनुरोध
अखबार टुडे
प्रकाशित:
२०७९, २७ आश्विन

काठमाडौं, २७ असोज । बलिवुड नायक आमिर खानलाई हिन्दू विरोधी विज्ञापन नखेल्न भारतका एक प्रान्तीय मन्त्रीले अनुरोध गरेको छ ।

खानलाई “धार्मिक भावनामा आघात पुग्ने“ किसिमका विज्ञापन नखेल्न मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले अनुरोध गरेको हो ।

एउटा विज्ञापनमा खान र नायिका कियारा अडवानी एक नव विवाहित जोडीका रूपमा एक हिन्दू संस्कार अनुरूपको समारोहमा सहभागी भएका छन् ।

वित्तीय कम्पनीको लागि गरिएको उक्त विज्ञापनमा खानले उनकी श्रीमती बनेकी नायिकाको घरमा बिहेपछि गृह प्रवेश गर्दा गर्नुपर्ने संस्कार देखाइएको छ । जुन परम्परागत रूपमा श्रीमतीले श्रीमानको घरमा पहिलो पाइला टेक्दा गर्ने गरिन्छ ।

आलोचकहरूले उक्त विज्ञापनले हिन्दू परम्परा र संस्कृतिमाथि आक्रमण गरेको आरोप लगाएका छन् । आलोचकहरूले विज्ञापनले हिन्दू संस्कारको खिल्ली उडाएको र अपमान गरेको बताएका छन् । तर केहीले भने विज्ञापनले जेन्डर वा लैङ्गिक विषयलाई असाध्यै राम्रो तरिकाले उठाएको भन्दै प्रशंसा गरेका छन् ।

मन्त्री मिश्राले आफूले विज्ञापनबारे एक गुनासो प्राप्त गरेपछि उक्त विज्ञापन हेरेको बताउँदै उनले सञ्चारकर्मीलाई भने, ‘म खानलाई भारतीय परम्परा संस्कारलाई ध्यानमा राख्दै यस्ता विज्ञापन नगर्न आग्रह गर्छु ।’

खानले यस्तो आरोप भोगेको यो पहिलोपटक भने होइन । सन् २०२१ मा पनि खानले एउटा टायरको विज्ञापनमा हिन्दू चाड दीपावलीमा पटखा नपड्काउन भनेपछि आलोचना खेपेका थिए ।

उनको पछिल्लो फिल्म लाल सिंह चड्ढाले पनि अनलाइनमा बहिस्कार अभियान भोग्नुपरेको थियो । हिन्दू दक्षिणपन्थीहरूले उक्त फिल्मको चर्को विरोध गरेका थिए ।

मन्त्री मिश्राले बलिवुडका चरित्रहरूलाई विभिन्न समयमा सुझाव र चेतावनी दिँदै आएका छन् । उनले यस्ता दृश्यले हिन्दू भावनामा चोट पुग्ने बताए । – बीबीसीबाट

प्रतिक्रिया