काठमाडौं, २६ असोज । काठमाडौंको नक्सालस्थित क्राउन प्लाजा होटलमा जलेर एक युवतीको शंकास्पद मृत्यु भएको छ ।
होटलको कोठामा जलेकी चाबहिल बस्दै आएकी २३ वर्ष युवतीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटेलका कर्मचारी सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका–१४ का २६ वर्षीय केशव रिजाल रहेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
होटेलमा आगोबाट जलेर घाइते भएकी युवतीलाई वीर अस्पताल पु¥याएका थिए । त्यहाँ उपचार असम्भव भएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरेको थियो । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ती युवतीको सोमबार बिहान मृत्यु भएको थियो ।
प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा पेट्रोल छर्किएर आगो लागेको देखिएको प्रहरीको भनाई छ । रिजाल र ती युवती प्रेमी–प्रेमिका भएको प्रहरीको आशंका छ ।
एसपी मैनालीका अनुसार उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनीहरूलाई काठमाडौं प्रहरी वृत्त मालीगाउँको हिरासतमा राखिएको छ ।