चुनावको मुखमा एमालेलाई झट्का : लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जनाद्वारा पार्टी परित्याग
अखबार टुडे
प्रकाशित:
२०७९, २६ आश्विन

काठमाडौं, २६ असोज । नेकपा एमालेलाई चुनावकै मुखमा ठूलो झट्का लागेको छ । एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्यसहित ३१ जनाले पार्टी परित्याग गरेपछि झट्का लागेको हो ।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष सनोजकुमार यादवको नेतृत्वमा ३१ जनाले बिधबार विज्ञप्ति जारी गर्दै एमाले परित्याग जनाएको हो ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका यादव स्थानीय तहको निर्वाचन अघि एमाले प्रवेश गरेका थिए ।

राजीनामा दिने अन्यमा पार्टीका प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीतकुमार राय लगायत छन् । एमाले परित्याग गर्नेहरु नेता घनश्याम भुसाल निकटका रहेका छन् ।

एमाले पार्टी नेतृत्वलेृ रुपन्देहीका प्रभावशाली नेता भु्साललाई टिकट नदिएपछि उनका निकट नेता कार्यकर्ता रुष्ट बनेका छन् । भुसालले भने पार्टीले टिक नदिएपछि रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।

उनीहरूले पार्टीमा नीतिभन्दा व्यक्ति हावी भएको र स्थानीय तह निर्वाचन विपक्षीलाई सहयोगको आरोप लगाउँदै राजीनामा गरेका जनाएका छन् ।

‘पार्टी अध्यक्ष ओलीले पार्टीमा तानाशाह प्रवृत्ति देखाउनु भयो, अहिले उहाँकै मतियारको रूपमा छविलाल विश्वकर्मा देखिनु भएको छ,’ राजीनामा दिएका प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्यायले भने, ‘पार्टी राम्रो हुँदाहुँदै पनि व्यक्ति हावी भएकोले राजीनामा दिन बाध्य भयौं ।’ उनले पार्टीले इमान्दार कार्यकर्ताभन्दा झोला बोक्ने र चाकडी गर्ने कार्यकर्ता पोसेको आरोप पनि लगाए ।

प्रतिक्रिया